६३ जनाको ज्यान गयो इन्डोनेसिया बाढीमा परी
Webpati
March 24, 2019

जाकार्ता, चैत ३
इन्डोनेसियामा आएको बाढी पहिरोमा परी  ६३ जनाको मृत्यु भएको छ । शनिबार राति आएको बाढी पहिरोमा अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने सम्भावना भएको अधिकारीहरुले बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन् । अत्यधिक वर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटनाहरु भएको जनाइएको छ ।

प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने अरु १८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप व्यवस्थापन निकायको आपतकालिन इकाइका प्रमुख कोरी सिम्बोलोनले जानकारी दिए । उनले भने, ‘दर्जनौ अझै पनि बेपत्ता रहेका छन्, स्थानीय समयानुसार बेलुका छ बजे बाढी आएको थियो ।’ बाढीबाट प्रभावित भएकाहरुमध्ये तीन हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । बाढीले दर्जनौ घर, पुल, सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्याएको सिम्बोलोनले जानकारी दिए । घटनाबाट प्रभावितहरुलाई खोजी , उद्धार र राहत वितरण कार्य भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्