मोनोरेलको डीपीआर सम्झौता, विद्यासुन्दरकै कार्यकालमा गुड्ला ?
Webpati
December 19, 2018

४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् ।

चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी)लाई डीपीआर तयार पार्ने जिम्मा दिइएको हो ।

बुधबार राष्ट्रिय सभागृहमा महानगरपालिका र कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । अबको एक वर्षभित्र कम्पनीले डीपीआर तयार गरिसक्नेछ । चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको थियो । चिनियाँ अधिकारीहरुले यसको लागत केही घट्न सक्ने बताएका छन् ।

सीआरसीसी चीन सरकारको स्वामित्व रहेको कम्पनी हो । मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको दावी छ । प्रारम्भिक प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने भनिए पनि एक वर्षको अवधि राखेर सम्झौता भएको छ ।

त्यसको ३ वर्षपछि मोनोरेल बनाउन सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । अब फटाफट योजनाअनुसार काम भए मात्रै पनि ४ वर्ष समय लाग्नेछ । यसका कारण मेयर विद्यासुन्दर शाक्यको पालामा रेल नगुड्ने निश्चित भएको छ । शाक्य मेयरमा निर्वाचित भएको २० महिना बितिसकेको छ । चिनियाँ रेल्वे अधिकारीले डीपीआर सहित ५ वर्ष समय लाग्ने बताएका छन् ।
यो पनि पढ्नुहोस सेतो हात्ती नबनोस् चक्रपथको मोनोरेल

डीपीआरको निर्णयमा काठमाडौं महानगरले गरेको ढिलाइका कारण शाक्यले चुनावी भाषणमा बोले जसरी ‘आफ्नै कार्यकालमा रेल गुडाउन’ सम्भव नहुने अवस्था आएको हो । तर, महानगरका अधिकारीहरु एक वर्ष उल्लेख गरिएपनि ६ महिनामा अनौपचारिक डीपीआर प्रतिवेदन दिन चिनियाँ कम्पनी तयार रहेको दावी गर्छन् ।

चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । जसअनुसार मोनोरेलको स्टेशन कोटेश्वर-कलंकी, कलंकी-महाराजगञ्ज, महाराजगञ्ज-कोटेश्वर गरी तीन खण्डमा हुनेछ ।

चक्रपथमा ईपीसीएफ मोडलबाट सञ्चालन हुने भनिएको मोनोरेल दुई वा पाँच वर्ष सम्पूर्ण प्राविधिक सेवासहित सञ्चालन निर्माण कम्पनीले नै गर्ने प्रस्ताव छ । उक्त अवधिमा काठमाडौं र ललितपुर महानगरपालिकाले सीआरसीसीलाई वाषिर्क रुपमा स्म्झौता अनुसारको रकम बुझाउनेछन् ।

काठमाडौं महानगरका प्रमुख शाक्यले स्थानीय तहको चुनावताका नै चक्रपथमा मोनोरेल निर्माण गर्ने महत्वकांक्षी योजना अघि सारेका थिए ।

निर्वाचित भएको डेढ वर्षपछि बल्ल डीपीआर बनाउन सम्झौता हुँदैछ । तर अध्ययनले देखाएको लागत महानगरले धान्न सक्ने अवस्था छैन । मेयर शाक्यले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा मात्रै रेल चलाउन सकिने बताए ।

डीपीआर तयार भएपछि खुला प्रतिस्पर्धाबाट निर्माण, सञ्चालन तथा हस्तान्तरण (बुट) मोडलमा रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धा गरिने मेयर शाक्यको भनाइ छ । त्यसमा उपयुक्त ठहरिएको कम्पनीले सीसीआरसीबाट डीपीआर किन्नुपर्ने उनले बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मोनोरेल आफ्नो पनि चुनावी एजेण्डा रहेको भन्दै चिनिँया कम्पनीलाई जतिसक्दो छिटो काम अघि बढाउन आग्रह गरे ।

‘अर्को चनावमा जाने बेला रेल गुडाइसक्न पाए हुन्थ्यो, उनले भने ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्