प्रचण्डको अमेरिका यात्रा
Webpati
March 27, 2019

काठमाडौं ।

सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका प्रस्थान गरेको नवौं दिन सोमबार अमेरिकाका दक्षिण र मध्य एशिया मामिला हेर्ने प्रमुख उपसहायक विदेशमन्त्री (प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी, ब्यूरो अफ साउथ एण्ड सेन्ट्रल एशियन अफेयर्स) एलाइस जी वेल्सलाई भेटेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले वेल्सको पद माथि उल्लेख गरिए झैं दिएको छ । तर, प्रचण्डका तर्फबाट सोमबार बेलुका उनकी पुत्री गंगा दाहालले सामाजिक सञ्जालमा राखेको पदमा भने उनै वेल्सलाई एक्टिङ असिस्टेन्ट सेक्रेटरी ब्यूरो अफ साउथ एण्ड सेन्ट्रल एशिया अफेयर्स (दक्षिण र मध्य एशिया मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री) भनेर प्रस्तुत गरिएको छ । सोही व्यहोरा प्रचण्डको आधिकारिक वेबसाइट सीएम प्रचण्डमा पनि सोमबार राति नै राखिएको थियो । उनीहरुबीच के कुराकानी भयो भन्ने बारेमा भने केही पनि खोलिएको छैन । प्रचण्ड आज अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम छ ।  उनी बिहीबार मात्रै स्वदेश आइपुग्ने जनाइएको छ ।

प्रचण्डले सोमबार नै मेरिल्याण्ड राज्यको प्रदेश संसदको पनि अवलोकन गरेको सँगै रहेकी छोरी गंगाले सामाजिक सञ्जाल मार्फत् जनाएकी छन् । नेपाली मूलका मेरिल्याण्ड राज्यका प्रदेश सांसद ह्यारी भण्डारीले सो अवसरमा स्वागत गरेको समेत उनले जनाएकी छन् । सो अवसरमा नेपाली राजदूत कार्की समेत सहभागी भएको  तस्बिरमा  देखिन्छ ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्