कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध
Webpati
January 21, 2019

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशिल कोइराला क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गर्दे राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रियसभाको आइतबारको बैठकमा कांग्रेसले ती दुई संस्थालाई तत्काल संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदन संचालन हुन नसक्ने भन्दै अवरोध गरेको हो । राष्टियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराउना साथै कांग्रेसका सांसदहरुले ढ्यापढ्याप गरे सदनको ध्यानाकर्षण गराएका थिए ।

नेपाली कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईंले मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाँकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ती जनाउदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नभईन्जेल सदनको कारवाही अघि बढ्न नसक्ने बताए ।

अध्यक्षको अनुमतिमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले दुई अस्पतालको बारेमा खारेज हुने वा नहुने भन्ने कुनै पनि निर्णय नभएको जानकारी गराएपछि पनि कांग्रेस सांसदहरुले उभिएर विरोध गरिरहे । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र प्रसाद पाण्डे पाण्डेले भने ‘स्वास्थ्य मन्त्रालयले ११ वटा पठाएको थियो । ९ वटाको भयो २ वटाको बारेमा किन निर्णय भएरन ? किन गरिएन ? के कारणले गरिएन ? अब दुई वटा अस्पताल कहाँ रहन्छन् त ? संघिय सरकार मातहत रहनुपर्छ भनी निर्णय गर्नुपर्छ भन्ने हाम्रो माग हो । प्रष्ट निर्णय नभएसम्म सदनको कारवाही अघि नबढाईयोस् ।’

अध्यक्षले आसन ग्रहणका लागि पटक पटकको आग्रह पछि पनि कांग्रेस सांसदहरु उभिएर विरोध जनाईरहेपछि बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्