अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द
Webpati
March 31, 2019

काठमाडौँ, चैत १७ गते ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ । मर्मतको अवधि अर्थात (१अप्रिल २०१९ देखि जुन ३०) सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनः सुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महीना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमानस्थल मर्मत अवधिमा नियमित उडानमा कुनै कटौती नहुने स्पष्ट पार्नुभयो ।

क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलका अनुसार अप्रिल १ अर्थात भोलि रातिदेखि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ । मर्मतका लागि सम्बन्धित ठकेदार कम्पनीले आवश्यक जनशक्ति र उपकरणका साथ पूर्व सम्भावित जोखिम व्यवस्थापनको तयारीसमेत गरेको निर्देशक पौडेलले बताउनुभयो । पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेशिनका साथमा राति धावनमार्ग बनाइनेछ ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्